काठमाडौं । मध्यरातमा पनि पुर्ननिर्माण कार्यको अनुगमनमा वडा अध्यक्ष पुगेभन्दा अचम्म लाग्न सक्छ । तर काठमाडौं महानगरपालिका वडा नं. ८ का अध्यक्ष आशामान संगत भने मध्यरात विकास निर्माण कार्यको अनुगमनमा भेटिए ।
विश्व सम्पदामा सुचिकृत पशुपति वडा नं. ८ मा नै पर्दछ । सो क्षेत्रभित्र धेरै ऐतिहासिक सम्पदा क्षेत्रहरु छन् । त्यही मध्येको जयबागेश्वरी स्थित पश्चिम क्षेत्रमा रहेको सेतो ढोकाको पुर्ननिर्माण कार्य भईरहेको छ । त्यही सेतो ढोका अनुगमन गर्न अध्यक्ष संगत पुगेका हुन् ।
आफ्नो जिम्मेवारी भित्र रहेको विकास निर्माणको कार्य सहि ढंगले भएको छ कि छैन भन्ने कुराको अनुगमन जनप्रतिनिधिले जुनसुकै बेला पनि गर्नु पर्छ भन्ने सोचले वोकेका महानगरको सम्पदा समितिका संयोजक समेत रहेका वडा नं ८ का अध्यक्ष आशामान संगतले वडा भित्रको सेता ढोका पुर्ननिर्माण कार्यको अनुगमन गरेका हुन् ।
सेतो ढोका परम्परागत शैलीमा नै गर्ने लक्ष्यका साथ वडा नं. ८ का अध्यक्ष आशामान संगत लागि परेका छन् । पुर्ननिर्माणमा कुनै पनि समस्या नपरोस् भन्नेका लागि उनले पुर्ननिर्माण हुँदै गरेको सेतो ढोकाको दैनिक जसो नै निगरानी गरिरहेको उनले बताए ।
सोमबार राती पुर्ननिर्माण स्थलमा भेटिएका वडा अध्यक्ष संगतले दिनभर वडाको काममा व्यस्त भएको भएपनि सम्पदा क्षेत्र भित्रको ऐतिहासिक सेतो ढोका निर्माण कार्यको प्रगति नियमित निरिक्षण गर्ने क्रममा आफू साँझ विहान जुनसुकै बेला पनि उपस्थित हुने गरेको जानकारी दिए ।
काठमाडौं महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिको संयोजक भएका नाताले आफ्नो वडा भित्रको मात्र नभई अन्य वडा भित्र पुर्ननिर्माण भईरहेको सम्पदा क्षेत्र, मठ मन्दिर जे जति बनिरहेका छन सवैको निरिक्षण गर्दा साँझ विहान जुनसुकै बेला पनि पुग्नु पर्ने उनको धारणा छ ।
पछिल्लो समय महानगरपालिकाले सम्पदा क्षेत्रको पुर्ननिर्माणसँगसँगै सरसफाई रंगरोगन लगायतका विषयमा निकै मेहनत गरेर काम गरिरहेको उनको भनाई छ ।